09:38:18 am 19-Apr-2019

कतार टल्कियो, उमेर यसै ढल्कियो तर देश टल्काउन पाइएन


कतार टल्कियो, उमेर यसै ढल्कियो तर देश टल्काउन पाइएन

आजको समृद्ध कतारमा  लाखौं नेपाली युवाहरूको पाखुराको तागत , सीप र पसिनाका एक एक थोपाहरु सिंचिएका छन् । आफ्नो विकाश र समृद्धिको निम्ति मानव स्रोतको रुपमा कतारले नेपाली युवा शक्तिलाई पहिलो रोजाइमा पारेको छ । अहिले कतारमा सबैभन्दा बढी नेपाली युवाहरुनै काम गरीरहेका छन् । सन २०२६ को विश्वकप अमेरीका सहित  तीन देशले आयोजना गर्ने तयारी गर्दै गर्दा सन २०२२ को विश्वकप भने कतारले एक्लै आयोजना गर्ने हिम्मत ग-यो । कतारको त्यस्तो आत्मविश्वासको पछाडी एक मात्र कारण थियो त नेपाली युवाहरुको श्रम शक्ति र दृढता । नेपाली सपुतहरुकै आडमा आज कतारको कायापलट भएको छ । उसले विश्वकप आयोजनाको हिम्मत गरेको छ। विश्वका धेरै देशको सिमा सुरक्षित भएको छ । धेरै देशको सार्वभौमिकता रक्षा भएको छ । सुडान देखि कंगो सम्म , जम्बुदेखी जाकार्तासम्म नेपाली युवा शक्तिको अदम्य साहस सजिएको छ।
त्यसको सट्टा गाउँमा खरका छाना फेरिएर जस्ता त  टल्किएका छन् । वुवा, आमा छोराछोरीको शरीरमा झुत्रा लुगा फेरीएर नयाँ र रंगिन लुगाहरु टल्किएका छ्न । श्रीमतीको  गलामा सुनको सिक्री त  टल्किएको छ । छोराछोरी टलक्क टल्किने भवन भएका बोर्डिङहरुमा टल्किने टाइ लगाएर पढेका छन्। तर, विडम्बना आफ्नो परीवारमा यति धेरै परीबर्तन आउँदा पनि त्यो युवाको मन भने टल्किन सकेको छैन किनकी आज उसको रगत र पसिनाले कतार टल्काएर फर्किदा घरमा जस्ता त टल्कियो तर उभित्र आफ्नो देश टल्काउन नपाउदाको पीडा छ। आफ्नी श्रीमतीको गलामा सुनको सिक्री टल्किदै गर्दा त्यो गैरी खेलमा लटरम्म लाबे धान झुलाउन नपाउँदाको पीडा छ ।  आफ्ना छोराछोरीले टलक्क टल्किने भवन भएको बोर्डिङमा पढ्दा त्यो डाँडामा रहेको कालिका प्राथमिक विद्यालय फिक्का भएको पीडा छ ।  आफ्नो घरमा चामलका रंगिन बोराहरु टल्किदा बतासिमा टल्किने मकैका घोगा राख्न नपाउँदाको पीडा छ । किनकी उसलाई थाह छ कि उसको यो समृद्धि क्षणिक हो । त्यसैले त उसलाई पाखुरा कमजोर भएर टाउकोमा फुलेको कपाल टल्किने बेलामा के गर्ने भन्ने पीडा छ। किनकी उ अहिले देश समृद्ध नभएको पिडामा छ।
ग्लोबलाइजेशनमा श्रम सीप र प्रविधिको अन्तरदेशिय व्यापार हुनु स्वभाविक भएपनी जुन रुपमा नेपाली युवाहरु पलायन हुनुपरेको छ यो निकै पिडादायी र खतरापूर्ण छ। यसले देशलाई क्षणिक लाभ दिए पनि अन्तत्वगत्वा त्यो अभिशाप बन्नेछ। त्यसकारण नेतृत्व यसमा गम्भीर बनोस्। देशमा समृद्धिको रेल  ल्याउनु भन्दा पहिले आँसु बगाउदै अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाहिरिने बहादुर युवाहरुको भेल रोक्नुहोस् ।
  नरेन्द्र चुदाली

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

YUBAPOST@GMAIL.COM