09:15:15 pm 13-Dec-2018

भव्य महल भित्रबाट यस्तो आवाज आएपछि


भव्य महल भित्रबाट यस्तो आवाज आएपछि

काठमाडौँ – कस्तो कुठाँउमा बनेछु म यो सहरिया महङ्गो घर ! बनाउँन थाल्दा त खूब फुर्क्याई फुर्क्याई ठड्याए ! भूकम्पले हल्लाउँछ, थेग्न सक्दिंन भनें तर मलाई अग्ल्याउन उद्धत रहे महत्वकाङ्क्षी मान्छेहरु ! उ बेला उनिहरुको उत्साह नै फरक थियो । यस्तो बनाउँछु, उस्तो बनाउँछु, यतै बुट्टा, उतै बुट्टा , रङ्गी बिरङ्गी बनाउने भन्दै मलाई पनि पुरुक्क् पारे । कैले अधकल्चो बनाएर छोडे । कतै पैसै भएन भनेर रूप रंग समेत बिगारे ।

शुरुशुरुमा त खूब खर्च गरे मेरालागि । सामान किन्दा नगद तिरे । अन्तिमतिर पुग्दा बाँकी पनि ल्याए, ढाँटी पनि ल्याए । पुराना, बिग्रिएका, टुक्रा- टुक्री जडौरी समेत प्रयोग गरे । हरतरहले मलाई एउटा सग्लो मान्छे झैँ ठड्याएरै छोडे ।

Ad

अजंङ्गको बनाएर ठड्याऊनु मात्र उद्धेश्य हैन रहेछ यी लोभी मान्छेको । बनाउँन्जेल मेरो रूप रंगको कुरा गरे । अब त मलाई टेकेर, चढेर, लिपेर, टाँसेर, बारेर, अनेकौ तिकड़म गरेर टुक्रा टुक्रामा बेच्ने र पैसा कमाउने उद्धेश्य पो रहेछ यिनको ! अब त एकाबिहानै उठेर मै तिर हेरेर लोभिन्छन्, मुख मिठ्याउछन् अनि कतै एक छेउ काटेर हुन्छ वा चिरेर एक मुठ्ठो पैसा समाउने सपना देख्न थाल्दछन् । मान्छेको स्वाभाव नै हो, गधालाइ जति करायो उती भारी थोपर्ने । त्यस्तै, मलाई पनी मिलाई मिलाई भरिया बनाइरहेकाछन् । गहिरो, अँधेरो हुनुको कारण मैले सामानको खात लाग्ने गोदाम भइदिनु पर्ने अलि साँघूरो कोठा हुनुको उपज काम नलाग्ने चिज फाल्ने, थन्क्याउने स्टोर बनिदिनु पर्ने, अलिक उज्यालो भुँई तलालाई रक्सी भट्टी बनाएर मै माथि बसेर पिउने, उफ़्रिने, हल्लीदै गएर मेरै डँडाल्नुमा तुर्क्याउने, पान चपाएर मेरै गालामा, अनुहारमा पिच्च पिच्च थुकेर कुरूप बनाउने गर्दछन् ।

जति माथि चढ्यो उति बढ़ी पैसा पैसा असुल्ने अवसर ठान्छन् मान्छेहरु । म अहिले काठमाण्डौको मुटु पुतलीसडकमा उभिएको छु । हेर्नुस त मलाई यहाँ के के उपमा दिएर बेचेका छन ! सेकुवा कर्नर रे ! सर्सुहाउदो मान्छेलाई हल्लिँदै हिड्ने, बाङगे बनाएर पठाऊने अनि कुस्त पैसा असुलेर पठाउने ठाँउ हो यो । एजुकेशनल कन्सलटेन्सी रे ! देशमा उत्पादित शैक्षिक जनशक्तिलाइ अनेकौ प्रलोभनमा बिदेशीको सेवामा पठाउने र जीवनभर उतै हराउने बनाउने गर्छन् यिनले !

यस्तै यस्तै अनेकौ रूप रंगका सँस्था उपसँस्थाका रङ्गी बिरङगी होडिङ बोर्ड र वाल बोर्डले छपक्क ढाकिएको छू म । यसरी ढाकिएको छु कि कतैबाट पनि एक आँखो समेत चिहाउन पाउन्न मैले । मेरै शरीरमा लठारिएर गएका टेलिफोन र बिजुलीका तारले मलाई मात्र हैन, म बसेको बुज्रुक मान्छेहरुको सुन्दर शहरलाइ समेत कुरूप बनाएको कुरा मैले महशुस गरेको छु । तर जन्म र सम्पतिलाइ मात्र जीवन बुझ्ने, कर्तव्यच्युत मान्छेहरुलाई यसको बोध हुने कुरै भएन । धिक्कार छ मलाई, एउटा सहरिया धनाड्यको महल भएर ठुला सडक बीचमा उभिनु परेकोमा । महल बनाएर पनि पैसाको लोभमा यसलाई बेचि बेचि आफु चाहि माथि टुप्पोका साँघुरा दुई कोठामा ठिँगुरीने साँघुरो मनका मान्छेको संगतमा परेकोमा ।

कामना गर्दछु, अर्को जीवन घर नै भएर बन्नु परेछ भने मा…थि डाँडामा बस्तु पालेर बस्ने एक गरिवको हातबाट बन्ने छु । जहाँ स्वस्थ वातावरण, प्रदुषणरहित हावापानी, कसैलाई नबेच्ने, प्रेमले युगौँसम्म मेरो सम्हार र उपयोग गर्ने मान्छे बसेको ठाँउ ! जीवन भनेको जन्म, सुख दुख:, जीवनचर्या पछि शास्वत मृत्यु हो भन्ने कुरा बोध भएका मान्छेहरुको बसोबास होस् ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]